डिजिटल प्रोफायल बारे
नेपालको संविधान २०७२ ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरिएको छ । नेपालको संविधानले स्थानीय तहहरूलाई स्थानीय स्वायत्त सरकारको रुपमा स्थापित गरेको छ । संविधानको अनुसूची ८ को क्र.सं. ६ मा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी सम्पूर्ण अधिकार स्थानीय सरकारलाई भएको उल्लेख छ, भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को ‘च’ मा माथि उल्लेखित विषयलाई थप विस्तार गरिएको छ । नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी सुनकोशी गाउँपालिकाले आफ्नो क्षेत्रको विकासको लागि भरपर्दो तथ्याङ्कीय आधार तयार गर्नुपर्ने प्रावधान अनुरुप यो डिजिटल पार्श्वचित्र तयार गरिएको हो । यो पार्श्वचित्र तयार गर्दा राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित “स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७५” को अनुसूची ३ मा गाउँ पार्श्वचित्रको ढाँचामा आधारित भइ तयार गरिएको छ । यसलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको समग्र वस्तुस्थिति झल्कने पार्श्वचित्र निर्माणलाई उच्चस महत्व दिएको छ । यो प्रतिवेदन स्थानीय स्तरका विकासको योजना निर्माण, नीति निर्माणको लागि स्थानीय सूचनाको प्रमुख तथा विश्वासिलो तथ्याङ्किय श्रोतको आधार हो ।
यो गाउँपालिकाको प्रोफाईल KoboToolbox प्रयोग गरी तयार गरिएको हो । यो प्रोफाइलमा गाउँपालिकाको समग्र भौतिक, जनसाङ्ख्यिक, आर्थिक, सामाजिक, वातावरणीय, भौतिक विकास, ऐतिहासिक, धार्मिक, सांस्कृतिक लगायत संस्थागत पक्षहरुको तथ्याङ्क अभिलेख तयार पार्ने, व्याख्या र विश्लेषण गरी डिजिटल प्रोफाइल तयार गरिएको छ । घरधुरी सर्वेक्षणका क्रममा कुनै पनि घर नछुटोस र कुनै पनि घर नदोहोरियोस भन्ने मान्यतालाई आधार मानेर घरधुरी सङ्केत नम्बर दिइ उक्त घरको GPS Coordination पनि लिइएको थियो । यसै गरी प्रत्येक वडाको विवरण र वडामा रहेका संस्थाहरुको संस्थागत विवरणको पनि सर्वेक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको थियो । गाउँपालिकाको छलफल, उठेका सवाल तथा सर्वेक्षणका आधारमा गाउँपालिकाका सबल पक्षहरू, दुर्बल पक्षहरू, अवसरहरू चुनौति तथा सम्भावनाको विश्लेषण समेत गरिएको छ । यसले गाउँपालिकाको अब आउने दिनको लागि चाहिने विकास योजना तयार गर्न महत्वपूर्ण भुमिका खेल्नेछ ।